मेरो एउटा दुश्मन छ,
जो मलाइ फोहोर जतिकै घृणा गर्छ
तर म उसलाइ फुल जतिकै मन पराउछु
उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैचामा बसन्त नआउनु भन्छ
मेरा घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरा आँगनका फुलले नमगमगाउनु भन्छ
मेरा बालबचेराले उस्ले सुन्ने गरि नगराउनु भन्छ
उस्लाइ दुख्नेगरि नरमाउनु भन्छ
उ उस्को घरको बार्दलिमा बस्छ र परबाट जोकोहिलाइ मेरो घर नपस्नु भन्छ
कोशेली या उपहार बोकेका जोकोहि नपसुन भन्छ
मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढाबुढिलाइ मेरो घर अगाडिको चौतारामा नबसुन भन्छ
उसलाइ मेरो घर माथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरा खेतबारिमा भाग्य लहर लह लह झुलेको
आँपका रुखमा आशाका लहरहरु फुलेको
कुलाको पानि मेरो गैरि खेतमा डुलेको
उस्लाइ केहि मनपर्दैन
यो बर्सात किन मेरोबारेमा घरको छानो भत्काउदैन
पल्लो गाउको खोलो किन मेरो घरको बाटो आउदैन
आगो किन यसरि अगेनोमा यसरि चुपचाप छ
किन झिल्को जुनकिरी जस्तो माथि माथि उड्दैन
किन केहि जलाउदैन
उ मेरो सपनामा मरुभुमि पसोस भन्छ
मेरो घरमा आदि आएर पसोस भन्छ
राति भकारिमा चोर आएर घुसोस
मेरो ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस भन्छ
तर म उसलाइ फुल जतिकै मन पराउछु
यत्रो दुनियामा उ बाहेकको अरु
मेरो साथि साबित्रि आफ्नो अर्को परिचित अपरिचित
एउटै कतै कोहि छैन
जसले आफ्नै सपना र रहर भुलेर
घाम पानि फुल जुन र चराहरु भुलेर
घर धर्ति र आकाश भुलेर
म बारे यतिबिघ्न सोचोस
मलाइ यतिबिघ्न सम्झोस
दुश्मन नहुनु भनेको त
आफुतिर हर्दम फर्किरहने
जिबनको एउटा पाटै नहुनु हो रहेछ
म उसलाइ फुल जतिकै मन पराउछु।
Comments
Post a Comment