आजभोली खै किन हो
मलाइ अलच्छिनी लागेको छ
घरको धुरिमा बसेर
बिहानै पोथी बासेको सुन्छु
छेवैको रुखको सुकेको हागामा बसेर
काग रोएको देख्छु
बाटोमा हिड्दै गर्दा कालो बिरालोले
अगाडीबाटनै बाटो काट्छ
मलाइ अजिब भैरहेको छ।
आजभोली मेरा दिनहरु
आफ्नै बसमा छैनन्
साह्रै न्यास्रो लाग्छ
कहिलेकाहि खाना बनाउदा
तिउनमा नुन हाल्नै बिर्सन्छु
सपना पनि नानाथरी देख्छु
आफ्नै मलामी आफै जादै गरेको
पश्चिमबाट घाम उदाएर
दिउसै दिन ढलेको महसुस गर्छु
केहि गर्न खोज्यो
नौ नारी गलेर आउछ
म ताक्छु मुडा
बन्चरो ताक्छ घुँडा
यसरिनै चलिरहेछ।
नियम अनुसार त
सत्यको सधै जीत हुनुपर्ने हो
तर यहाँ दिनदिनै
कैयौ रामहरु हारिरहेछन्
भस्मासुरहरु निर्बस्त्र बनेर
यहा सर्बशक्तिमान बनिरहेछन्
चित्तामा जलिरहेका लासहरु
पुन ब्युतेर जुर्मुराइरहेछन्
त्यसैले म आजभोलि
युद्धमा हारेको सिपाहिझै
आदिमासु बनेर जिइरहेछु
हो म बौलाएको छु
मलाई पनौती लागेको छ।
Comments
Post a Comment